वीरगंज महानगरपालिका–१६ स्थित मितेरी पुल क्षेत्रमा अटो रिक्सा चालकहरूबाट वर्षौंदेखि रकम असुली भइरहेको भन्दै चालकहरूले गुनासो गरेका छन् ।
रकम नदिए अटो सञ्चालन गर्न तथा सडक छेउमा पार्किङ गर्नसमेत नदिने भन्दै केही व्यक्ति तथा जग्गाधनीले दबाब र दुर्व्यवहार गर्ने गरेको उनीहरूको आरोप छ । अटो चालक एवं संघका अध्यक्ष वीरगंज महानगरपालिका–३ निवासी अजयकुमार पासवानका अनुसार मितेरी पुल क्षेत्रमा विगत ११ वर्षदेखि अटोचालकहरूबाट प्रतिव्यक्ति १०० रुपैयाँका दरले रकम उठाउने गरिएको छ । सामान्य परिवारबाट आएका इ -अटोचालकहरूको बाध्यताको फाइदा उठाउँदै केही व्यक्ति तथा जग्गाधनीले रकम असुली गर्ने गरेको उहाँको भनाइ छ ।
इ -अटोचालकहरूका अनुसार केही दिनअघि यस विषयमा वीरगंज महानगरपालिकाले चासो देखाउँदै अबदेखि कसैले पनि अवैध रूपमा रकम उठाउन नपाउने आश्वासन दिएको थियो । तर, महानगरपालिकाको आश्वासनपछि पनि रकम असुली नरोकिएको उनीहरूको गुनासो छ ।
चालकहरूका अनुसार रकम नदिए सडक छेउमा समेत अटो पार्किङ गर्न नदिने भन्दै दबाब दिने गरिएको छ । यसका कारण कतिपय चालक रकम तिर्न बाध्य भएका छन् भने केहीले लुकिछिपी निःशुल्क रूपमा अटो सञ्चालन गर्दै आएका छन् ।
त्यसैगरी, रकम उठाउने व्यक्तिले प्रहरी वा महानगरपालिकाका नगर प्रहरीमा आफ्ना सदस्य रहेको दाबी गर्दै आफूले मध्यस्थता गरेर सबै कुरा मिलाइदिने भन्दै चुनौती दिने गरेको पनि अटोचालकहरूको आरोप छ ।
प्रहरी र नगर प्रहरीसँग पहुँच रहेको दाबी गर्दै रकम असुली भइरहेको आरोप लागे पनि सम्बन्धित निकायबाट प्रभावकारी हस्तक्षेप नभएको चालकहरूको गुनासो छ । आफूहरूबाट उठाइएको रकम कसले, कुन प्रयोजनका लागि र कुन निकायको अनुमतिमा संकलन गरिरहेको छ भन्नेबारे समेत स्पष्ट जानकारी नरहेको उनीहरू बताउँछन् ।
वर्षौंदेखि भइरहेको भनिएको रकम असुली, पार्किङमा रोक तथा दुर्व्यवहारको आरोपले अटोचालकहरूको रोजीरोटीमा समेत असर परेको छ । यस विषयमा वीरगञ्ज महानगरपालिका, नगर प्रहरी र जिल्ला प्रहरी कार्यालय पर्साले आवश्यक छानबिन गरी रकम असुलीको वास्तविकता सार्वजनिक गर्नुपर्ने माग चालकहरूले गरेका छन् ।