जेठ महिनाको चर्को गर्मीमा शरीरलाई शीतल राख्न र निर्जलीकरणबाट जोगिन तरबुजा र खरबुजा धेरै खाने गरिन्छ ।
पानीको मात्रा अत्यधिक हुने यी फलफूल स्वास्थ्यका लागि लाभदायक मानिए पनि गलत खानेकुरासँग सेवन गर्दा स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । आयुर्वेदका अनुसार केही खानेकुरालाई “विरुद्ध आहार” अर्थात् एकअर्कासँग नमिल्ने भोजन मानिन्छ। यस्ता खानेकुरा सँगै सेवन गर्दा पाचन प्रक्रियामा समस्या उत्पन्न हुन सक्छ ।
तरबुजा र खरबुजासँग के नखाने ?
१. दूध तथा दुग्धजन्य पदार्थ
दूध, दही वा अन्य दुग्धजन्य पदार्थसँग तरबुजा वा खरबुजा खानु उपयुक्त मानिँदैन। यसले पाचन प्रक्रिया ढिलो बनाउने, ग्यास, पेट फुल्ने तथा पेट दुख्ने समस्या निम्त्याउन सक्छ ।
२. भुटेका तथा तारेका परिकार
तेलयुक्त, भुटेका वा तारेका खानेकुरासँग पानीयुक्त फलफूल सेवन गर्दा अपच, एसिडिटी तथा छाती पोल्ने समस्या हुन सक्छ। गर्मीमा शरीर पहिले नै तातो हुने भएकाले यस्ता भारी खानेकुराले थप असर गर्न सक्छ ।
३. भारी खाना वा अन्नजन्य परिकार
भात, मासु वा अन्य भारी खानासँग तरबुजा र खरबुजा खाँदा पाचन प्रणालीमा अतिरिक्त दबाब पर्न सक्छ। यसले सुस्ती, भारीपन तथा असहजता महसुस गराउन सक्छ।
४. अत्यधिक चिसा पेय पदार्थ
आइसयुक्त पेय वा अत्यधिक चिसो वस्तुसँग यी फलफूल सेवन गर्दा आन्द्राको प्राकृतिक प्रक्रिया प्रभावित हुन सक्छ। यसले पखाला, पेट दुख्ने जस्ता समस्या निम्त्याउन सक्छ ।
कसरी खाने उपयुक्त ?
आयुर्वेदले तरबुजा र खरबुजाजस्ता पानीयुक्त फलफूल एक्लै वा समान प्रकृतिका फलसँग मात्र सेवन गर्न सुझाव दिएको छ । यसरी सेवन गर्दा शरीरले राम्रो पोषण पाउने र पाचन प्रणाली स्वस्थ रहने विश्वास गरिन्छ । यदि कसैलाई तरबुजा वा खरबुजा मन नपरेमा नरिवल पानी, बेलको सरबत, कागती पानी तथा मोही पनि गर्मीमा शरीरलाई शीतल राख्न उपयोगी विकल्प हुन सक्छन्। साथै पर्याप्त आराम र सन्तुलित आहार पनि उत्तिकै आवश्यक मानिन्छ ।