डिभिजन वन कार्यालय महोत्तरीले वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउने प्रक्रिया अघि बढाएपछि स्थानीय बासिन्दाले पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।
गौशाला नगरपालिका–१ र बर्दिवास नगरपालिका–५ स्थित महेन्द्र राजमार्ग छेउमा रहेका करिब २० आवासीय पसल तथा टहराहरू हटाउन सुरक्षाकर्मी र डोजर परिचालन गरिएपछि स्थानीय आन्दोलित भएका हुन् । आक्रोशित स्थानीयले बिहान करिब ८ बजेदेखि सडकमा टायर बालेर राजमार्ग ठप्प पारेका थिए ।
इलाका प्रहरी कार्यालय बर्दिवासका अनुसार आन्दोलनका कारण केही समय तनावग्रस्त बनेको अवस्था वार्तापछि सामान्य भएको हो । बिहान करिब १० बजे स्थानीय प्रतिनिधि र सरोकारवालाबीच भएको छलफलपछि यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।बर्दिवास नगरपालिका–५ का वडाध्यक्ष कारमान स्याङ्गवासँगको वार्तामा सुकुम्बासीलाई आफैं घर खाली गर्न समय दिने सहमति भएपछि आजका लागि घरटहरा भत्काउने प्रक्रिया स्थगित गरिएको बताइएको छ ।डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रका अनुसार उक्त क्षेत्रमा रहेका संरचना हटाउन यसअघि नै पटक–पटक १५ दिने, सात दिने र तीन दिने सार्वजनिक सूचना जारी गरिएको थियो ।उनका अनुसार राजमार्ग छेउमा सुरुमा साना पसल तथा टहरा बनाइएका भए पनि पछि ती संरचना विस्तार हुँदै अर्धपक्की घरमा परिणत भएकाले कानुनी प्रक्रिया अनुसार हटाउने प्रयास गरिएको हो ।
आजका लागि डोजर सञ्चालन रोकिए पनि स्थानीयले आफैं संरचना खाली गर्ने सहमति भएको र तत्कालका लागि आन्दोलन स्थगित भएको प्रहरीले जनाएको छ|