जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमार्फत आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाई पक्राउ गरिएको जनाएको छ ।
प्रहरीका अनुसार प्रसाईले सामाजिक सञ्जाल तथा विभिन्न सार्वजनिक माध्यममार्फत सार्वजनिक नैतिकता, शिष्टाचारविपरीत अभिव्यक्ति दिने, घृणा तथा द्वेष फैलाउने, विभिन्न जातजाति तथा सम्प्रदायबीचको सम्बन्धमा खलल पुर्याउने तथा नेपाल सरकार र यसको कामकारबाहीप्रति निराधार तथा अप्रमाणित टिप्पणी गर्ने गरेको आरोप छ ।
प्रहरीले उनलाई मिति २०८३ जेठ ४ गते राति करिब ८ बजे वीरगञ्जस्थित सिद्धार्थ दियालो होटलबाट संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ । उक्त टोलीमा जिल्ला प्रहरी कार्यालय पर्सा तथा वडा प्रहरी कार्यालय विर्ताका प्रहरी कर्मचारीहरू संलग्न थिए ।
पक्राउपछि प्रसाईविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन तथा राज्यविरुद्धको कसूरअन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । सम्मानित पर्सा जिल्ला अदालतबाट तीन दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको छ ।
प्रहरीले पक्राउ परेका प्रसाई झापा जिल्ला विर्तामोड नगरपालिका–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–६ बस्ने ५६ वर्षीय रहेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।