काठमाडौं । पोखरा लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्ता लाई सर्वोच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । यसअघि विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
मंगलबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले विशेष अदालतको आदेश बदर गर्दै धरौटीमा रिहा गर्न आदेश दिएको हो। सर्वोच्च प्रशासनले आदेश बदर भई धरौटी माग गर्ने निर्णय भएको जानकारी वेबसाइटमार्फत दिएको भए पनि लिखित आदेश आउन बाँकी रहेको जनाएको छ ।
यसअघि विशेष अदालतले प्रस्तुत प्रमाणहरूको विश्लेषण गर्दै उनलाई १६ पुसमा थुनामा पठाउने आदेश दिएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गुप्तासहित अन्य व्यक्तिहरूविरुद्ध घुस तथा अनियमिततासम्बन्धी आरोपमा मुद्दा दायर गरेको थियो । आरोपअनुसार कास्कीका प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई कास्कीमै सरुवा रोक्न ५३ लाख रुपैयाँ घुस लिइएको तथा भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिका लागि थप २५ लाख रुपैयाँ लेनदेन गरिएको उल्लेख छ ।
अख्तियारले यस प्रकरणमा कुल ७८ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ। घुस दिएको आरोपमा सुजन लामामाथि पनि समान बिगो दाबी सहित मुद्दा दायर गरिएको छ ।