वीरगंजस्थित तथ्याङ्क समन्वय कार्यालयले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क संकलनमा समस्या भइरहेको जनाएको छ ।
कार्यालय प्रमुख पुष्कर बिजुक्छेँका अनुसार आर्थिक गणनाका लागि खटाइएका गणकहरू पत्रसहित उद्योग प्रतिष्ठानमा पुगे पनि आवश्यक विवरण उपलब्ध नगराइँदा काम प्रभावित भएको छ ।
“पर्साका ठूला औद्योगिक प्रतिष्ठानमा पत्रसहित पुगेका गणकहरूलाई खटाएका छौँ । तर आवश्यक तथ्याङ्क पाउन समस्या भइरहेको छ,” उनले भने। “आगामी जेठ ७ गते हुने समीक्षा बैठकमा तथ्याङ्क उपलब्ध नगराउने प्रतिष्ठानहरूको सूचीबारे छलफल गर्ने तयारी छ ।”
यता वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले भने उद्योगी–व्यवसायीहरू राज्यले गर्ने आर्थिक गणनामा सहयोग गर्न तयार रहेको बताएका छन् । उनका अनुसार हालसम्म कुन–कुन प्रतिष्ठानले तथ्याङ्क उपलब्ध गराएनन् भन्ने विषयमा कार्यालयले सङ्घसँग औपचारिक समन्वय नगरेको छैन ।
“सम्बन्धित कार्यालयले सङ्घलाई अनुरोध गरेको खण्डमा हामी प्रतिष्ठानहरूलाई पत्राचार गरेर पनि गणनामा सहभागी गराउन पूर्ण रूपमा तयार छौँ,” उनले भने ।
कार्यालयका अनुसार पर्सामा कुल २३ हजार ३०० प्रतिष्ठानमा आर्थिक गणना गर्ने लक्ष्य राखिएकोमा सोमबारसम्म १४ हजार १५६ प्रतिष्ठानको गणना सम्पन्न भइसकेको छ । हाल ६६ जना गणक र ९ जना सुपरिवेक्षक आर्थिक गणनामा खटिएका छन् ।