तथ्याङ्क समन्वय कार्यालय वीरगंजले पर्सा जिल्लाका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क सङ्कलनमा समस्या भएको जनाएको छ ।
कार्यालयका प्रमुख पुष्कर बिजुक्छेँका अनुसार जिल्लाका ठूला औद्योगिक प्रतिष्ठानहरूले आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क गणकलाई उपलब्ध नगराएका कारण काम प्रभावित भएको हो । उनले गणकहरू पत्रसहित प्रतिष्ठानहरूमा पुगे पनि आवश्यक विवरण प्राप्त गर्न कठिनाइ भइरहेको बताए ।
“पर्साका ठूला औद्योगिक प्रतिष्ठानमा पत्रसहित पुगेका आर्थिक गणनाका गणकहरूलाई खटाएका छौँ । तर, आवश्यक तथ्याङ्क प्राप्त गर्न समस्या भइरहेको छ,” उनले भने, “यही जेठ ७ गते हुने समीक्षा बैठकमा तथ्याङ्क उपलब्ध नगराउने औद्योगिक प्रतिष्ठानहरूको सूचीबारे छलफल गर्ने तयारी छ ।”
यता, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले उद्योगी–व्यवसायीहरू राज्यले सञ्चालन गरेको आर्थिक गणनामा आवश्यक सहयोग गर्न तयार रहेको दाबी गरेका छन् । उनले सम्बन्धित कार्यालयले हालसम्म सङ्घसँग औपचारिक समन्वय नगरेको बताए ।
“कुन–कुन औद्योगिक प्रतिष्ठानले तथ्याङ्क उपलब्ध गराएनन् भन्ने विषयमा कार्यालयले हामीसँग समन्वय गरेको छैन,” उनले भने, “यदि अनुरोध आएमा सङ्घले सबै उद्योगलाई पत्राचार गरी आर्थिक गणनामा सहभागी हुन समन्वय गर्न तयार छ ।”
कार्यालयका अनुसार पर्सा जिल्लाभर २३ हजार ३०० प्रतिष्ठानको आर्थिक गणना गर्ने लक्ष्य राखिएकोमा सोमबारसम्म १४ हजार १५६ प्रतिष्ठानको गणना सम्पन्न भइसकेको छ । हाल उक्त कार्यका लागि ६६ जना गणक र नौ जना सुपरिवेक्षक खटिएका छन् ।