हर्कराज राई साम्पाङ ले पछिल्लो समय संसद् बैठकमा निरन्तर विरोध जनाउने क्रमलाई नियमितजस्तै बनाएका छन् । संसद् बैठक सुरु हुनासाथ उभिने, समय माग्ने, समय पाए पनि नपाए पनि आफ्ना धारणा राख्ने, पर्चा प्रदर्शन गर्ने तथा सरकारसँग प्रश्न उठाउने कार्य उनले दैनिकजसो दोहोर्याइरहेका छन् । उनलाई उनकै पार्टीका अन्य सांसदहरूले समेत साथ दिइरहेका छन् ।
आजको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ आकस्मिक समय लिएर बोल्दै सांसद साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाह संसद्प्रति जवाफदेही नभएको आरोप लगाए । उनले संसद् नियमावलीको नियम १५ को उपनियम २ अनुसार संसद्मा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्री वा प्रधानमन्त्रीले सात दिनभित्र दिनुपर्ने व्यवस्था रहे पनि प्रधानमन्त्रीले त्यसको बेवास्ता गरेको बताए ।
‘मैले वैशाख २८ र २९ गते प्रधानमन्त्रीसमक्ष केही प्रश्न राखेको थिएँ, तर त्यसको जवाफ आएको छैन,’ उनले भने, ‘मेरा प्रश्न गृह, रक्षा लगायत मन्त्रालयसँग सम्बन्धित थिए । ती मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्रीसँग नै भएकाले उहाँले नै जवाफ दिनुपर्छ ।’ साम्पाङले दार्चुलाको लिपुलेकसहित सीमा समस्यासम्बन्धी आफूले उठाएका प्रश्नको समेत प्रधानमन्त्री शाहबाट जवाफ चाहेको बताए ।
उनले प्रधानमन्त्रीले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्ने अवस्थामा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नु उपयुक्त हुने टिप्पणी गरे । ‘यदि उहाँले आफ्नो कर्तव्य पूरा गर्न सक्नुहुन्न भने मार्ग प्रशस्त गर्दा राम्रो हुन्छ,’ उनले भने, ‘संसद्प्रति जवाफदेही नहुने हो भने उहाँ आखिर कोप्रति जवाफदेही हुनुहुन्छ ?’
सांसद साम्पाङले दैनिकजसो विरोध जनाइरहे पनि संसद् बैठक भने अवरुद्ध भएको छैन । सभामुख डीपी अर्याल ले बैठक नियमित रूपमा सञ्चालन गर्दै आएका छन् । यसअघि सभामुख अर्यालले साम्पाङलाई संसद्को मर्यादाभित्र रहेर गतिविधि गर्न चेतावनीसमेत दिएका थिए ।