जनकपुरधाम | मधेश प्रदेश सरकारमा सहभागी रहेको जनमत पार्टीका दुई मन्त्रीले पदबाट राजीनामा दिएका छन् ।
जनमत पार्टीबाट सरकारमा रहेका अर्थमन्त्री महेश प्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री कृष्णप्रसाद यादवको निर्देशनपछि उनीहरूले राजीनामा बुझाएको जनाइएको छ। जनमत पार्टीले गत वैशाख २१ गते नै सरकारबाट समर्थन फिर्ता लिए पनि ती मन्त्रीहरू हालसम्म पदमै रहेका थिए ।
यसैबीच, मधेश प्रदेश सरकारमा नयाँ राजनीतिक समीकरण निर्माण गर्ने तयारीसँगै जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारबाट बाहिर निकाल्ने तयारी भइरहेको स्रोतले जनाएको छ । मुख्यमन्त्री यादवले जसपा नेपाल तथा जनमत पार्टीका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका थिए ।
जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिए पनि जसपा नेपालका मन्त्रीहरूले भने हालसम्म राजीनामा नबुझाएको बताइएको छ। यसैबीच, जसपा नेपालका मन्त्रीहरूलाई बर्खास्त गर्ने तयारीसमेत भइरहेको स्रोतको दाबी छ ।