नेपाली कांग्रेसका सभापति गगन थापा ले प्रधानमन्त्री बालेन्द्र शाह शक्तिशाली वा लोकप्रिय भए पनि संविधान, कानुन र नियमभन्दा माथि हुन नसक्ने बताएका छन् ।
नेपाली कांग्रेसको नीति प्रशिक्षण तथा प्रतिष्ठानद्वारा कोशी प्रदेशमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले कुनै पनि सरकार वा नेतृत्व कानुनी दायराभन्दा बाहिर जान नपाउने स्पष्ट पारे ।
उनले भने, “म शक्तिशाली छु, लोकप्रिय छु भन्दैमा जे पनि गर्न पाइन्न। प्रधानमन्त्री संविधान, कानुन र नियमले बाँधिएको हुन्छ। त्यो नियममा उहाँ रहनुपर्छ ।”
थापाले सरकार संविधान र कानुन विपरीत ढङ्गले अघि बढे कांग्रेस सशक्त प्रतिपक्षका रूपमा रहने उल्लेख गरे। उनले भने, “सरकार कानुनभन्दा विपरीत तरिकाले मसँग बहुमत छ भनेर हिँड्छ भने कांग्रेस ज्युँदो छ ।”
उनले सरकारको व्यवहारप्रति टिप्पणी गर्दै सुकुमबासी बस्तीमा बिना प्रक्रिया डोजर चलाउन नहुने र व्यवसायीलाई जबर्जस्ती प्रहरीमार्फत मन्त्रालयमा बोलाउन नपाइने बताए ।
थापाले अघिल्लो सरकार र वर्तमान सरकार दुवैको कार्यशैलीमाथि टिप्पणी गर्दै भने, अघिल्लो सरकारले धेरै बोलेर प्रतिपक्षलाई हेपेको र अहिलेको सरकारले नबोलेर हेपिरहेको अवस्था देखिएको छ ।
उनले लोकतान्त्रिक अभ्यासमा सन्तुलन, संवाद र कानुनी शासन अनिवार्य हुनेमा जोड दिए ।