जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णा प्रसाद यादवले दोस्रो पटक प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
जनमत पार्टी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेश सभाको बैठक आह्वान गर्न आग्रह गरेका थिए । आज बसेको प्रदेश सभा बैठकमा विश्वासको मतका लागि भएको मतदानमा उपस्थित १०० जना सांसद मध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत परेको थियो ।
प्रदेश सभामा आवश्यक बहुमतभन्दा बढी मत प्राप्त गरेसँगै मुख्यमन्त्री यादवले पुनः विश्वासको मत हासिल गरेका हुन् ।
मुख्यमन्त्री यादवको पक्षमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेपाल संघीय समाजवादी पार्टीले मत दिएका थिए । विपक्षमा भने जनमत पार्टी, जसपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहेका थिए ।
जनमत पार्टी सरकारबाट बाहिरिएपछि मधेश प्रदेशको राजनीतिक समीकरणलाई लिएर चासो बढिरहेका बेला मुख्यमन्त्री यादवले विश्वासको मत प्राप्त गरेका हुन् ।