प्राधिकरणले मधेश जिल्लाहरू लगायत दाङ, बाँके, बर्दिया, डोटी, कैलाली र कञ्चनपुर जिल्लालाई उच्च सतर्कता अपनाउनुपर्ने सूचीमा राखेको छ भने कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, पाल्पालगायतका जिल्लालाई अद्यावधिक रहन आग्रह गरेको छ । ती जिल्लाका धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियस वा त्योभन्दा माथि पुगेको जनाइएको छ ।
अत्यधिक गर्मीका कारण थकान, कमजोरी, टाउको दुख्ने, चक्कर आउने, बेहोस हुने तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकहरूले बताएका छन् ।
तातो हावाको लहरबाट बच्न चर्को घाम लागेको समयमा घरभित्रै बस्न, बाहिर निस्कनै परे पातलो कपडाले टाउको ढाक्न, प्रशस्त पानी पिउन तथा कागती पानी र फलफूल सेवन गर्न प्राधिकरणले अनुरोध गरेको छ ।
यस्तै, बालबालिकालाई चर्को घाममा खेल्न नपठाउन तथा खेतबारीको काम बिहान वा साँझपख मात्र गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।