प्रतिनिधिसभाका विपक्षी दलहरूले सरकारको कार्यशैलीविरुद्ध संसद्मा थप सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेका छन् ।
आइतबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलका प्रमुख सचेतकहरूको बैठकले जेठ १२ गते बस्ने प्रतिनिधिसभा बैठकमा सरकारको सशक्त प्रतिरोध गर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा नेपाली कांग्रेस की प्रमुख सचेतक बासना थापा, नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महर, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलाल तथा राष्ट्रिय प्रजातन्त्र पार्टी की प्रमुख सचेतक खुश्बु ओली सहभागी थिए ।
एमाले प्रमुख सचेतक ऐनबहादुर महर का अनुसार बैठकमा सरकारको कार्यशैली, संसद्प्रतिको व्यवहार तथा विपक्षी दलहरूको आवाज दबाउने प्रयासबारे गम्भीर छलफल भएको थियो ।
नेकपाका प्रमुख सचेतक युवराज दुलाल ले प्रधानमन्त्री बालेन्द्र शाह ले संसद्लाई उपेक्षा गरेको, सांसदहरूले उठाएका प्रश्नको जवाफ नदिएको तथा विपक्षीको विरोधलाई बेवास्ता गरेको विषयमा छलफल केन्द्रित भएको जानकारी दिनुभयो ।
एमाले प्रमुख सचेतक महरले संसदीय मूल्यमान्यता विपरीत सरकार विपक्षीको आवाज दबाएर अघि बढ्न खोजेको आरोप लगाउनुभयो । उहाँले सभामुखको भूमिकामाथि पनि प्रश्न उठाउँदै गैरलोकतान्त्रिक प्रवृत्तिबारे गम्भीर समीक्षा भएको बताउनुभयो ।
बैठकमा संविधान कार्यान्वयन, प्रतिनिधिसभा नियमावलीको पालना तथा लोकतन्त्रको रक्षाका लागि विपक्षी दलहरूबीच सहकार्यलाई निरन्तरता दिने सहमति भएको जनाइएको छ ।
विपक्षी दलहरूले प्रधानमन्त्री शाह संसद्मा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै निरन्तर विरोध गर्दै आएका छन् ।