चर्को गर्मीबाट बच्न धेरै मानिसहरूले एयर कन्डिसनर (एसी) प्रयोग गर्ने गर्छन् ।
एसीले गर्मी र आर्द्रता कम गरेर शरीरलाई आरामदायी महसुस गराउँछ । अत्यधिक गर्मी र पसिनाबाट राहत दिन एसी प्रभावकारी मानिए पनि लामो समयसम्म एसीमा बस्नु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ ।
एसीको अत्यधिक प्रयोगले छाला, कपाल, नाक र घाँटीमा सुख्खापन बढाउन सक्छ । त्यसैले एसी सन्तुलित रूपमा प्रयोग गर्नु आवश्यक हुन्छ । प्रशस्त पानी पिउने, शरीरमा नमी कायम राख्ने र बेला–बेलामा खुला हावामा बस्ने बानीले स्वास्थ्य सुरक्षित राख्न मद्दत गर्छ । लामो समय एसीमा बस्दा छालासम्बन्धी समस्या देखिन सक्छ । एसीको चिसो हावाले छाला सुख्खा र कडा बनाउँछ, जसले एलर्जी, चिलाउने समस्या वा छालामा चिरा पर्नेसम्मको अवस्था ल्याउन सक्छ ।
त्यस्तै, एसीले वातावरणको आर्द्रता घटाउने भएकाले घाँटी सुख्खा हुने, नाक बन्द हुने तथा दमका बिरामीको समस्या बढ्न सक्छ ।
अत्यधिक एसी प्रयोगले शरीरको तापक्रम सन्तुलनमा असर पुग्ने भएकाले थकान, टाउको दुख्ने वा शरीर झमझम हुने समस्या पनि देखिन सक्छ । एक्कासी धेरै चिसो कोठाबाट बाहिरको अत्यधिक गर्मीमा जाँदा शरीरले तापक्रम सन्तुलन गर्न नसक्दा रुघाखोकी वा ज्वरो आउने सम्भावना बढ्छ । विशेषगरी लामो समय कम्प्युटर वा मोबाइल स्क्रिन प्रयोग गर्ने व्यक्तिहरूमा एसीको कारण आँखामा नमी कम भई सुख्खापन, जलन तथा धमिलोपनको समस्या हुन सक्छ ।
त्यसैले गर्मीमा एसी प्रयोग गर्दा समय–समयमा बाहिरी हावामा बस्ने, पर्याप्त पानी पिउने र तापक्रम सन्तुलित राख्ने बानी अपनाउनु आवश्यक मानिन्छ ।