श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगंंज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा ४ महिलासहित २६ जनाले रक्तदान गरेका छन्।
वीरगंज महानगरपालिकाका प्रथम मेयर विजयकुमार सरावगीको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष धुरन प्रसाद कुर्मीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सरावगीले रक्तदानभन्दा ठूलो सामाजिक तथा मानवीय कार्य अरू हुन नसक्ने बताए। उनले रक्तदानबाट आवश्यक परेको समयमा बिरामीको जीवन बचाउन सकिने उल्लेख गर्दै यसलाई मानव सेवाको उत्कृष्ट उदाहरणका रूपमा लिनुपर्ने धारणा राखे। स्वस्थ व्यक्तिहरूलाई नियमित रक्तदान गर्न आग्रह गर्दै उनले यस्ता सामाजिक कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा सन्तोष पटेल, कलावती देवी, आरती पटेल, छठु प्रसाद कुर्मी, वीरेन्द्र महरालगायतले रक्तदान गरेका थिए।
सो अवसरमा नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बृजकिशोर पटेल, हिन्दूवादी नेता सन्तोष पटेल, रक्तसञ्चार केन्द्र वीरगंज प्रमुख सौरभ पाण्डे, समाजसेवी हरेन्द्र पटेललगायतको उपस्थिति रहेको थियो। संस्थाका सचिव मुकेश पटेल, कोषाध्यक्ष मुनेश पटेल तथा अन्य सदस्यहरूको समेत सहभागिता रहेको थियो।