श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राई ले सभामुखसमक्ष प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन नसके आफूलाई सदनबाट निष्कासन गर्न चुनौती दिएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै बोल्दै राईले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखले प्रभावकारी रुलिङ गर्न नसकेको आरोप लगाए । उनले संसदमा निरन्तर माग भइरहँदा पनि प्रधानमन्त्रीलाई जवाफदेही बनाउन नसकिएको भन्दै असन्तुष्टि जनाए ।
राईले संसद नियमावलीको नियम १५(२) अनुसार प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराएर जवाफदेही बनाउन सभामुखसँग माग गरे । यदि त्यसो गर्न नसक्ने हो भने नियमावलीको ३१(१) लागू गरेर आफूलाई सदनबाट निष्कासन गर्न आग्रह गरे ।
उनले भने, “संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन । नियम १५(२) अनुसार सदनमा जवाफदेही बनाएर ल्याउन सक्नुहुन्न भने नियमावलीको ३१(१) लागू गरेर मलाई निष्कासन गरिदिनुस् ।”
राईले प्रधानमन्त्रीलाई संसदमा ल्याउने वा आफूलाई कारबाही गरेर निष्कासन गर्नेमध्ये एक कदम चाल्न सभामुखलाई आग्रह गर्दै अन्यथा संसदको गरिमा कायम नरहने बताए ।