पूर्वगृहमन्त्री सुधन गुरूङमाथि उठेका सम्पत्ति सम्बन्धी प्रश्नको छानबिन गर्न गठित उच्चस्तरीय समितिले बयान प्रक्रिया सम्पन्न गरेको छ । मंगलबारदेखि सुरु गरिएको बयान बुधबार पनि जारी रहँदै अन्ततः सम्पन्न भएको स्रोतले जनाएको छ ।
समितिले गुरूङको सम्पत्ति विवरण र त्यससँग सम्बन्धित विभिन्न प्रश्नहरूमा केन्द्रित रहेर बयान लिएको हो । समयसीमा नजिकिँदै जाँदा छानबिन प्रक्रिया तीव्र रूपमा अघि बढाइएको बताइएको छ ।
सरकारले २०८३ वैशाख २८ गते पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा समिति गठन गरेको थियो । समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणि नेउपाने सदस्य रहेका छन् । उक्त समितिलाई गुरूङको सम्पत्ति विवरणबारे उठेका प्रश्नहरूको अध्ययन तथा छानबिन गर्ने जिम्मेवारी दिइएको थियो ।
१५ दिनको समयसीमा नजिकिँदै गर्दा समितिले बयान प्रक्रिया पूरा गरेको हो । प्रारम्भिक चरणमा बयान नसकिएकाले आज पुनः बयान लिइएको थियो ।
समितिले संकलन गरेका विवरणहरूको विश्लेषणपछि प्रतिवेदन तयार पार्ने तयारी रहेको बताइएको छ । आवश्यक परेमा समितिको म्याद थप गर्न सकिने संकेतसमेत स्रोतहरूले दिएका छन् ।
छानबिन प्रक्रियालाई अन्तिम रूप दिन अब कागजात अध्ययन र निष्कर्ष निर्माणको काम बाँकी रहेको जनाइएको छ ।