मधेश प्रदेश सरकारले बाराको ऐतिहासिक तथा पुरातात्त्विक महत्व बोकेको सिम्रौनगढलाई ‘ओपन एयर म्युजियम’ अर्थात् खुल्ला संग्रहालयको अवधारणामा विकास गर्ने घोषणा गरेको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा उक्त क्षेत्रलाई प्रदेश पर्यटन गौरव आयोजनाका रूपमा अघि बढाइने उल्लेख गरिएको हो ।
प्रदेश प्रमुखसमक्ष प्रस्तुत गरिएको नीति तथा कार्यक्रममा सिम्रौनगढको ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय महत्वलाई उजागर गर्दै त्यसलाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गरिने जनाइएको छ । प्राचीन मिथिला सभ्यता, कर्णाट वंशको इतिहास तथा पुरातात्त्विक अवशेषले भरिएको सिम्रौनगढलाई खुल्ला संग्रहालयको रूपमा विकास गरी आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य प्रदेश सरकारले लिएको छ ।
त्यसैगरी चुरे श्रृङ्खलाको फेदी क्षेत्रमा पर्यापर्यटन (इको टुरिजम) प्रवर्द्धन गर्न ‘मधेश ट्रे’ पदमार्ग तथा साइकल ट्रेक पूर्वाधार निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा ग्रामीण जीवनशैलीलाई पर्यटनसँग जोड्दै पर्यटकको बसाइ अवधि बढाउने योजना प्रदेश सरकारको रहेको छ ।
सरकारले पदमार्ग तथा साइकल ट्रेकलाई ब्रान्डिङ गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसारसमेत गर्ने जनाएको छ । यसबाट स्थानीय स्तरमा रोजगारी सिर्जना हुनुका साथै होटल व्यवसाय, हस्तकला, कृषि उत्पादन तथा स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
मधेश प्रदेश सरकारले पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अगाडि बढाउने नीति लिँदै ऐतिहासिक सम्पदा संरक्षण, धार्मिक पर्यटन, सांस्कृतिक प्रवर्द्धन तथा पर्यावरणमैत्री पर्यटन पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको जनाएको छ ।
सिम्रौनगढ क्षेत्रलाई संरक्षण र प्रवर्द्धनमार्फत प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित आगामी वर्षदेखि विभिन्न संरचनात्मक तथा पूर्वाधार विकासका काम सुरु गरिने जनाइएको छ ।