काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारका सकारात्मक कामको स्वागत गर्दै कमजोरीप्रति खबरदारी गर्नु प्रतिपक्षको दायित्व भएको बताएका छन् । नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले बजेटमा केही सकारात्मक नीतिगत व्यवस्था समेटिएको उल्लेख गर्दै त्यसको स्वागत गर्नुपर्ने धारणा राखे ।
थापाले सरकारले गरिबी निवारणको सट्टा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको आरोप लगाए । उनले भने, “जहाँ ठीक कुरा भएको छ, त्यसलाई ठीक भन्नुपर्छ। संरचनागत सुधारका सकारात्मक विषयको स्वागत गर्नुपर्छ। तर गरिबी र गरिबलाई एउटै रूपमा बुझ्ने प्रवृत्ति गलत हो।”
उनले राज्यको नीति गरिबको समस्या समाधानतर्फ नभई उनीहरूलाई विस्थापित गर्ने दिशातर्फ उन्मुख भएको टिप्पणी पनि गरे ।
थापाले कांग्रेसको भूमिकाबारे बोल्दै संविधान र कानुनको रक्षा, तथा स्रोत–साधनको न्यायोचित वितरणका लागि प्रतिपक्ष सधैं उभिने बताए ।
यसैबीच उनले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न चाहनेहरूले लिडरसीप एकेडेमीको कोर्स पूरा गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको जानकारी दिए । उनका अनुसार ७५३ पालिकामा उम्मेदवार बन्न चाहने सबैले उक्त एकेडेमीमा भर्ना भई प्रशिक्षण पूरा गर्नुपर्नेछ ।