प्रतिनिधि सभाको नियमावली पारित गर्ने क्रममा आइतबार संसदमा विपक्षी सांसद र सभामुखबीच तीव्र विवाद भएको छ । अवस्था तनावपूर्ण बन्दा सभामुख डोलप्रसाद अर्याल मर्यादापालक (प्रहरी) को घेरामा बस्न बाध्य भएका थिए ।
सांसद र मर्यादापालकबीच भएको धकेलाधकेलका क्रममा केही सांसद सामान्य घाइते भएका छन् भने नेपाली कांग्रेसका सांसद सन्तोष सुब्बाको कपडा च्यातिएको छ ।
प्रतिनिधि सभाको कार्यसूचीअनुसार नियमावली मस्यौदा समितिको प्रतिवेदनमाथि दफाबार छलफल गरी पारित गर्ने तयारी गरिएको थियो । सुरुवातमा दफाबार छलफलको प्रस्ताव सर्वसम्मतले पारित भए पनि अन्तिम चरणमा आएर विपक्षी दलहरूले थप छलफलको माग गर्दै समितिमा पठाउन आग्रह गरेपछि विवाद चर्किएको हो ।
सत्तापक्ष र विपक्षी दुवै दलका सांसदहरूले ३५ भन्दा बढी संशोधन दर्ता गराएका थिए । छलफलपछि निर्णयार्थ प्रस्तुत गर्ने क्रममा विपक्षीले असहमति जनाउँदै प्रक्रिया रोक्न माग गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । विवादका क्रममा नेकपा एमालेकी सांसद रिगंला यादवले कुर्सी उचालेर रोष्टमतर्फ फ्याँक्ने प्रयास गरेकी थिइन् भने केही सांसदहरू रोष्टममा पुग्ने प्रयासमा देखिएका थिए । कांग्रेस र रास्वपाका सांसदबीच पनि भनाभन भएको थियो ।
नियमावलीमाथि रहेका संशोधनहरू स्वीकार गर्ने वा नगर्ने विषयमा स्पष्ट प्रक्रिया नअपनाइएको भन्दै विपक्षीले आपत्ति जनाएका थिए । बिहानै सांसदहरूलाई संशोधनका कागजात वितरण गरिएको भए पनि अन्तिम निर्णय प्रक्रियामा असन्तुष्टि देखिएको हो ।
विपक्षी दलहरूले नियमावलीलाई थप छलफलका लागि समितिमा पठाउनुपर्ने अडान राखेका छन् भने सत्तापक्षले प्रक्रिया पूरा भइसकेको दाबी गरेको छ । यस विषयमा संसदको कामकाज लामो समयसम्म अवरुद्ध बनेको थियो ।
अन्ततः रातिसम्म चलेको विवाद र घम्साघम्सीका बीच संसदमा नियमावली पारित प्रक्रिया विवादित बनेको छ ।