पर्सा प्रहरीले वीरगञ्ज मालपोत कार्यालयका लेखा व्यवसायी रामाअधार प्रसाद कलवारलाई हिरासतमा लिएको छ ।
मालपोत कार्यालय पर्साका प्रमुख डमरु प्रसाद निरौलालाई अभद्र व्यवहार गरेको आरोपमा कलवारलाई नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनका अध्यक्ष रामाअधार प्रसाद कलवार सहितका व्यक्तिहरुले आफूलाई अभद्र व्यवहार गरेको भन्दै कारबाहीको माग गर्दै मालपोत कार्यालय पर्साका प्रमुख डमरु प्रसाद निरौलाले उजुरी दिएका थिए ।
सोहि उजुरीको अधारमा उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उजुरीमा एसोसिएसनका वर्तमान उपाध्यक्ष सन्दीप साह कानु, निवर्तमान उपाध्यक्ष परमानन्द गुप्ता र साधारण सदस्य ऐनुल हक मियाँको नाम पनि समावेश गरिएको छ ।
शुक्रबार दिउँसो करिब १ बजे पर्सा प्रहरीले रामाअधार कलवारलाई मालपोत कार्यालय परिसरबाट नियन्त्रणमा लिएको थियो ।
अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको पर्सा प्रहरीले जनाएको छ ।