संविधान दिवस २०८१ को अवसरमा आज दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ का लागि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
कन्सर्टमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी गरी कम्तीमा पाँच हजार सुरक्षाकर्मी तैनाथ गरिने काठमाडौँ जिल्ला प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिएका छन् । उनले भने, "कन्सर्टमा सहभागी सबैको सुरक्षाका लागि व्यापक सुरक्षाको व्यवस्था मिलाइएको छ । शान्ति सुरक्षा खल्बल्याउने प्रयास भएमा कडा कारबाही हुनेछ ।"
आज साँझ ४ बजेबाट दरबारमार्गमा सुरु हुने कन्सर्टको सुरक्षा व्यवस्था प्रमुख रजौरेकै नेतृत्वमा हुनेछ भने परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीलाई सुरक्षाको लागि खटाइने जनाइएको छ ।
नागरिक तहबाट आयोजित यस कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि सहभागिता रहने बताइएको छ। सरकारले कन्सर्ट सफल बनाउन आवश्यक समन्वय र सहजीकरण गरेको छ ।
सवारी व्यवस्थापनका लागि दरबारमार्ग क्षेत्रमा हिजोदेखि नै सवारी आवागमन बन्द गरिएको छ । आज बेलुकी ८ बजेसम्म केशरमहल चोकबाट दक्षिणगेट, जयनेपाल चोक र महेन्द्रसालिक चोकबाट आउने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आग्रह गरेको छ ।