वीरगंज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह निलम्बन भएको एक साताभित्रै लामो समयदेखि रोकिएको कर्मचारीहरूको तलब भुक्तानी प्रक्रिया सुरु भएको छ ।
नगरप्रमुखको जिम्मेवारी सम्हालिरहेका कार्यबाहक नगरप्रमुख इम्तियाज आलमको पहलमा पहिलो चरणमा सयौं कर्मचारीको खातामा तलब रकम पठाइएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाको आर्थिक प्रशासन महाशाखाका अनुसार पहिलो चरणमा ४६७ जना कर्मचारीलाई तलबबापत ५ करोड ५५ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम निकासा गरिएको छ ।
लेखा अधिकृत रुपनारायण राउतका अनुसार ५९ जना निजामती कर्मचारी, १४२ जना स्थायी सेवा कर्मचारी तथा १३३ जना सरसफाइ कर्मचारीलाई तीन महिनाको तलब भुक्तानी गरिएको छ ।
त्यसैगरी १२० जना करार सेवाका कर्मचारी र १३ जना करारका सवारी चालकलाई चार महिनाको तलब निकासा गरिएको महानगरपालिकाले जनाएको छ ।
लामो समयदेखि तलब रोकिँदा कर्मचारीहरू आर्थिक समस्यामा परेका थिए । कार्यबाहक नगरप्रमुख आलमको पहलपछि रोकिएको तलब भुक्तानी प्रक्रिया सुरु भएको र बाँकी कर्मचारीहरूको तलबसमेत चरणबद्ध रूपमा निकासा गरिने जनाइएको छ ।