संविधान दिवसको अवसरमा राजधानीको दरबारमार्गमा आयोजित नेशनल डे कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।
सधैं फर्मल पहिरनमा देखिने प्रधानमन्त्री ओली यसपटक भने क्याजुअल लुकमा कन्सर्टमा पुगेका हुन् । उनले जिन्स पाइन्ट, सर्ट र ज्याकेट लगाएका थिए, जुन पहिरनमा उनी पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।
सरकारले यो कन्सर्टका लागि ५० लाख रुपैयाँ खर्च गरेको छ। प्रधानमन्त्री ओलीको विशेष चासोमा आयोजित यस कार्यक्रमलाई युवामैत्री बनाउने उद्देश्यले सामाजिक सञ्जालका प्रभावशाली व्यक्तिहरूको पनि प्रयोग गरिएको छ। दरबारमार्गको विशेष सजावट, भव्य स्टेज, र मोबाइल रिङब्याक टोनमार्फत गरिएको प्रचारले यस कन्सर्टलाई सरकारले उच्च प्राथमिकतामा राखेको प्रस्ट हुन्छ ।
कार्यक्रममा सर्वसाधारणलाई सहभागी गराउन सरकारको तर्फबाट मोबाइल म्यासेज पठाइएको थियो। कन्सर्टलाई सुरक्षित बनाउन ५ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ ।