पर्सा प्रहरीले ३ सय ७० किलो लागूऔषध गाँजा बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी मिर्जापुरबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार राति छिपहरमाई गाउँपालिका–१, मिर्जापुरस्थित पानी नभएको नहरको खाल्डोमा रहेको झाडीबाट २५ वटा प्लास्टिकका पोकामा लुकाइछिपाइ राखिएको अवस्थामा उक्त गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार बरामद गरिएको लागूऔषध सम्बन्धमा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको छ । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।