वीरगंजस्थित ठाकुर राम बहुमुखी क्याम्पसमा दरबन्दीअनुसार अधिकृत कर्मचारीको अभाव भएपछि खरिदार तहका कर्मचारीहरूले शाखा प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन् ।
क्याम्पसमा केही कर्मचारीहरूको सरुवा तथा अवकाश भएपछि शाखा प्रमुखका पदहरू रिक्त भएसँगै तल्लो तहका कर्मचारीहरूलाई जिम्मेवारी दिइएको हो । जेठ १९ गते सामान्य तथा भण्डार शाखा प्रमुख गीता श्रेष्ठ अवकाश भएपछि उक्त शाखाको जिम्मेवारी खरिदार जयप्रकाश साहलाई दिइएको छ । त्यस्तै, परीक्षा शाखा प्रमुख रहमान हवारी करिब दुई महिनाअघि विराटनगर सरुवा भएपछि सो शाखामा अस्थायी रूपमा कार्यरत मनोहर साहलाई जिम्मेवारी तोकिएको क्याम्पसले जनाएको छ ।
त्यसैगरी, लेखा प्रमुख गुन्जन सिंह पनि दुई महिनाअघि विराटनगर सरुवा भएपछि उक्त शाखाको जिम्मेवारी खरिदार अवधकिशोर साहले सम्हालिरहेका छन्। यसअघि जेठ १९ सम्म सो शाखा नायब सुब्बा रुपा झाको जिम्मेवारीमा थियो । यस्तै, शिक्षा शास्त्र प्रशासन प्रमुखको जिम्मेवारी हाल ल्याब असिस्टेन्ट रामचन्द्र कलवारले सम्हालिरहेका छन् । उनी केही महिनादेखि उक्त शाखाको कार्यसम्पादन गर्दै आएका छन् ।
क्याम्पसमा शैक्षिक बेथिति तथा आर्थिक अनियमिततासम्बन्धी विवाद पटक–पटक उठ्ने गरेकाले त्रिभुवन विश्वविद्यालयले आवश्यक कर्मचारी नपठाएको कर्मचारी स्रोतको दाबी छ । यसअघि क्याम्पस प्रमुखहरूले दरबन्दी थप तथा कर्मचारी व्यवस्थापनका लागि माग गर्दै आए पनि हालसम्म त्यसको सुनुवाइ भएको छैन ।
क्याम्पस प्रमुख डा. केशव यादवले ठूलो क्याम्पस भएकाले पर्याप्त कर्मचारी अत्यावश्यक रहेको बताउनुभयो । उहाँका अनुसार कर्मचारी अभाव समाधानका लागि दरबन्दी थप तथा नयाँ कर्मचारी नियुक्तिका लागि केन्द्रमा पत्राचार गर्ने तयारी भइरहेको छ ।