मधेश प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबु राउतले पत्रकारिता क्षेत्र स्वच्छ, विश्वसनीय, मर्यादित र जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।
मिडिया काउन्सिल मधेशद्वारा वीरगंजमा आयोजित ‘स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता’ सम्बन्धी प्रशिक्षण कार्यक्रममा बोल्दै पूर्वमुख्यमन्त्री लालबाबु राउतले पत्रकारिताप्रति समाजको ठूलो विश्वास रहेको उल्लेख गर्दै त्यसलाई कायम राख्न सञ्चारकर्मीहरू जिम्मेवार बन्नुपर्ने बताए ।
“पत्रकारलाई देशको चौथो अंगका रूपमा लिइन्छ । समाजले पत्रकारमाथि ठूलो विश्वास गरेको हुन्छ । त्यसैले समाजको विश्वासमा खरो उत्रिनु र जिम्मेवारीका साथ कलम चलाउनु नै असल पत्रकारको धर्म हो,” उनले भने ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका राउतले पर्साका पत्रकारहरूका लागि आयोजित उक्त प्रशिक्षणले आगामी दिनमा स्वतन्त्र, निष्पक्ष र व्यावसायिक पत्रकारिता प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । मिडिया काउन्सिल मधेशकी कार्यवाहक अध्यक्ष वन्दना झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ पत्रकार धर्मेन्द्र झाले मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए। प्रशिक्षणका क्रममा डिजिटल युगका चुनौती, पत्रकारिताको आचारसंहिता तथा व्यावसायिक अभ्यासका विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव अशोक तिवारीले सामाजिक सञ्जालमा सस्तो लोकप्रियता हासिल गर्ने उद्देश्यले हुने गैरजिम्मेवार सामग्री उत्पादनप्रति चिन्ता व्यक्त गरेका थिए । उनले नियम र कानुनको परिधिभित्र रहेर जनमुखी पत्रकारिता गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरे । त्यस्तै महासंघका पूर्वसचिव दिपेन्द्र चौहानले लोकप्रियताका लागि सामाजिक सञ्जालमा गरिने अमर्यादित गतिविधि पत्रकारिता नभई सञ्चारकर्मी कै लागि आत्मघाती र जोखिमपूर्ण हुने टिप्पणी गरेका थिए ।
महासंघका लेखा समिति संयोजक केसी लामिछानेले यस्ता तालिमले सञ्चारकर्मीलाई थप जिम्मेवार बनाउन सहयोग पुग्ने बताएका थिए । नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले तालिमले सहभागीहरूलाई नयाँ सीप र ज्ञान हासिल गर्न मद्दत गर्ने विश्वास व्यक्त गरेका थिए । महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनालले नयाँ र पुराना पत्रकारबीच अनुभव आदानप्रदान तथा सिकाइको अवसर प्रदान गर्ने भएकाले तालिमलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका थिए ।
सहभागी सञ्चारकर्मीहरूले यस्ता कार्यक्रमले मोफसल पत्रकारिताको व्यावसायिक स्तर अभिवृद्धि गर्न तथा जिम्मेवार सञ्चार अभ्यासलाई प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुग्ने बताएका छन् । प्रशिक्षण कार्यक्रममा १ सय २५ भन्दा बढी पत्रकारहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा वरिष्ठ पत्रकारहरू जगदीशप्रसाद शर्मा, शंकर खतिवडा, कन्हैयालाल केसरी र शेषमन पण्डित लगायतको उपस्थिति रहेको थियो ।