नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजमा कार्यरत प्रहरी नायब निरीक्षक दिलीपकुमार दासलाई अवकाशपछि घोडा चढाएर भव्य रूपमा बिदाइ गरिएको छ ।
नेपाल प्रहरी संगठनमा ३० वर्ष सेवा पूरा गरी अवकाश प्राप्त गरेका दासलाई शुक्रबार बिहान विशेष सम्मानका साथ घोडामा चढाएर बिदाइ गरिएको हो । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका वरिष्ठ प्रहरी उपरीक्षक कृष्णबहादुर पाली मगरले अवकाशप्राप्त प्रहरी कर्मचारीको योगदानको कदर गर्दै सम्मानजनक बिदाइ गर्ने उद्देश्यले कार्यालयका प्रहरी कर्मचारीहरूको सल्लाहअनुसार उक्त कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
उनले यस्ता कार्यक्रमले संगठनमा कार्यरत प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनुका साथै सेवाकालभरि इमानदारी र समर्पणका साथ काम गर्न थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे । लामो समयसम्म नेपाल प्रहरी संगठनमा रहेर पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रहरी नायब निरीक्षक दासलाई सम्मानपूर्वक बिदाइ गरिएको वरिष्ठ प्रहरी उपरीक्षक मगरले बताए ।
बिदाइ कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालयका प्रहरी अधिकृत, प्रहरी जवान तथा अन्य सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।