त्रिभुवन राजपथ अन्तर्गत वीरगंजको मुख्य सडक (मेन रोड) क्षेत्रमा भत्काउन बाँकी रहेका घर तथा भवनहरूमा आगामी आइतबारदेखि पुनः डोजर चलाइने भएको छ
।
सडक विभागले गत वैशाख ६ र ७ गते पहिलो चरणमा सडक सीमाभित्र पर्ने दायाँ–बायाँ २५–२५ मिटर क्षेत्रका घर, भवन तथा अन्य संरचनामा डोजर चलाएर आंशिक रूपमा भत्काएको थियो । त्यस क्रममा सम्बन्धित घरधनीहरूलाई २५ दिनभित्र सडक सीमाभित्र पर्ने संरचनाहरू आफैं हटाउन आग्रह गरिएको थियो । तर अधिकांशले संरचना नहटाएकाले विभागले असार ७ गतेदेखि पुनः डोजर सञ्चालन गरी बाँकी संरचना हटाउने तयारी गरेको हो ।
यसका लागि सडक विभाग अन्तर्गतको सडक डिभिजन कार्यालय, हेटौँडाले शुक्रबार वीरगञ्ज महानगरपालिकालाई पत्राचार गर्दै आवश्यक सहयोगका लागि अनुरोध गरेको छ ।
सडक डिभिजन कार्यालयले महानगरपालिकालाई पठाएको पत्रमा त्रिभुवन राजपथ अन्तर्गत मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकखण्डमा केन्द्ररेखाबाट दायाँ–बायाँ २५–२५ मिटर सडक सीमाभित्र रहेका घरटहरा हटाउने कार्यमा आवश्यक सहयोग गर्न आग्रह गरिएको उल्लेख छ ।
यसअघि गत मंगलबार सडक डिभिजन कार्यालय, हेटौँडाले सार्वजनिक सूचना जारी गर्दै पाँच दिनभित्र सडक सीमाभित्र पर्ने संरचनाहरू सम्बन्धित घरधनीले आफैं हटाउन निर्देशन दिएको थियो । अन्यथा सडक ऐन, २०३१ बमोजिम सडक सीमा संरक्षण कार्यक्रम अन्तर्गत विभागले आफैं संरचना हटाउने चेतावनी दिएको थियो ।
गत वैशाख ६ र ७ गते गण्डक चोकदेखि मितेरी पुलसम्मको मुख्य सडक क्षेत्रमा दायाँ–बायाँ २५–२५ मिटर सीमाभित्र पर्ने करिब एक हजार २०० घर तथा भवनमा डोजर चलाइएको थियो । त्यसपछि केही घरधनीले आफैं संरचना हटाए पनि घण्टाघर, माइस्थान, आदर्शनगर हुँदै अलखियामठ चोकसम्मका अधिकांश घर तथा भवन अझै हटाइएको छैन ।
