१२औँ विश्व योग दिवसको अवसरमा भारत विकास परिषद्, रक्सौल शाखाले जुन २१ मा इन्टिग्रेटेड चेक पोस्ट (आइसिपी) परिसरमा विशेष योग शिविर आयोजना गर्ने भएको छ ।
कार्यक्रमलाई सफल तथा जनसहभागितामूलक बनाउन परिषद्ले व्यापक जनसम्पर्क अभियान सञ्चालन गरिरहेको जनाएको छ । परिषद्का सदस्यहरूले विभिन्न सामाजिक संघसंस्था, सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, व्यावसायिक प्रतिष्ठान, प्रतिष्ठित नागरिक तथा योगप्रेमीहरूलाई निमन्त्रणापत्र वितरण गर्दै कार्यक्रममा सहभागी हुन आग्रह गरिरहेका छन् ।
विगत पाँच वर्षदेखि भारतीय भूमि बन्दरगाह प्राधिकरण (आइसिपी) रक्सौल तथा भारत विकास परिषद्, रक्सौलको संयुक्त आयोजनामा विश्व योग दिवसका अवसरमा योग शिविर सञ्चालन हुँदै आएको छ । यस वर्ष पनि कार्यक्रमलाई थप प्रभावकारी र भव्य बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको परिषद्ले जनाएको छ ।
परिषद्का अध्यक्ष रजनीश प्रियदर्शी, सचिव नरेश कुमार तथा कार्यक्रम संयोजक अरविन्द जयसवालले आइसिपी व्यवस्थापनसँग समन्वय गरी सम्पूर्ण व्यवस्थापन कार्यलाई अन्तिम रूप दिइएको जानकारी दिएका छन् । उनीहरूले अधिकतम नागरिक, कर्मचारी तथा अधिकारीहरूको सहभागिता सुनिश्चित गर्न विशेष पहल भइरहेको बताएका छन् ।
परिषद्का सेवा संयोजक तथा मिडिया इन्चार्ज विमलकुमार सर्राफका अनुसार शिविरको सञ्चालन आर्ट अफ लिभिङका संस्थापक आध्यात्मिक गुरु रविशङ्करको मार्गदर्शनमा प्रशिक्षित वरिष्ठ योग प्रशिक्षक चण्डेश्वरप्रसाद साहले गर्नेछन् । साहले विगत २३ वर्षदेखि नेपाल र बिहारका विभिन्न क्षेत्रमा योग, प्राणायाम तथा आध्यात्मिक चेतनासम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।