वीरगंज महानगरपालिका–४ स्थित बाल सुधार गृहबाट फरार भएका दुई जना बालकलाई प्रहरीले करिब डेढ घण्टाभित्रै नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ ।
डाका तथा चोरी मुद्दामा सजाय भुक्तानका लागि बाल सुधार गृहमा राखिएका ती दुवै बालक शौचालयको भेन्टिलेसन फुटाएर फरार भएका थिए । फरार हुनेमा सर्लाहीको मलङ्गवा नगरपालिका–३ का वशिर साहका १० वर्षीय छोरा नौसाद साह र सहिद साहका ११ वर्षीय छोरा नजिर साह रहेका छन् । उनीहरू दिउँसो करिब १:२० बजे बाल सुधार गृहको पूर्वपट्टि रहेको भवनको माथिल्लो तलाको शौचालयको भेन्टिलेसन फुटाएर सुरक्षाकर्मीलाई छल्दै भागेका थिए ।
घटनापछि जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष प्रहरी टोली परिचालन गरी तत्कालै खोजतलास सुरु गरिएको थियो । खोजतलासका क्रममा प्रहरी टोलीले करिब ३:३० बजे नेपाल–भारत सीमा क्षेत्रस्थित मितेरी पुल नजिकैबाट दुवै बालकलाई नियन्त्रणमा लिन सफल भएको हो । भारततर्फ भाग्ने तयारीमा रहेका अवस्थामा उनीहरूलाई सीमा नाकामै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै बालकलाई पुनः बाल सुधार गृहमै राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।