भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले बाराको मटिअर्वा नाकामा सुरक्षा जाँचमा कडाइ गरेपछि नेपाली नागरिकहरूले आवतजावतमा सास्ती भोग्नुपरेको छ ।
एसएसबीले पछिल्लो दुई दिनदेखि सीमा नाकामा कडाइ गर्न थालेपछि भारतीय बजार आदापुर जाने नेपालीहरू घण्टौं लाइनमा उभिन बाध्य भएका छन् । सुरक्षाजाँचका नाममा लामो समय रोकिँदा स्थानीयवासीले समस्या भोगिरहेको बताएका छन् ।
कलैया उपमहानगरपालिका–१० सँग जोडिएको मटिअर्वा नाकाबाट आदापुर जाने नेपालीलाई यसअघि सहज रूपमा आवतजावत गर्न दिइन्थ्यो। तर पछिल्लो समय भारतीय सुरक्षाकर्मीले नागरिकता तथा सवारीसाधनका कागजात मागेर लामो समय रोकेर जाँच गर्न थालेको स्थानीय मनोज प्रसादले बताए । उनका अनुसार पहिले सवारीसाधनसहित सहज प्रवेश दिइने भए पनि अहिले घण्टौंसम्म लाइनमा बस्नुपर्ने अवस्था आएको छ । त्यसका कारण कतिपय नेपाली सीमा पार नगरी फर्किने गरेका छन् ।
सीमावर्ती क्षेत्रमा रहेका नेपालीहरू खाद्यान्न, मेसिनरी सामान, लत्ताकपडा तथा कस्मेटिक सामग्री सस्तोमा पाइने भएकाले दैनिकजसो भारतीय बजारमा जाने गरेका छन् । तर पछिल्लो समय भारतीय सुरक्षाकर्मीले सामान ल्याउने प्रक्रियामा समेत कडाइ गरेको स्थानीयले बताएका छन् । पहिले साइकलमा दुई बोरासम्म चामल ल्याउन दिइने भए पनि अहिले आधा बोरा मात्र ल्याउन दिइएको नीलकण्ठवाका त्रिभुवा प्रसादले बताए। बढी सामान भेटिए जफत गर्न थालिएको समेत उनले जानकारी दिए ।
कडाइका कारण केही स्थानीयले वैकल्पिक रूपमा खेतको बाटो प्रयोग गर्न थालेको पनि बताइएको छ । यस विषयमा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले मटिअर्वा नाकामा एसएसबीले सुरक्षा जाँचमा कडाइ गरेको जानकारी सशस्त्र प्रहरीमार्फत प्राप्त भएको बताए।
उनले यस विषयमा भारतीय पक्षसँग बुझ्ने तयारी भइरहेको जानकारी दिए ।