नयाँ वर्ष २०८३ को सुरुवातसँगै देशका विभिन्न स्थानमा भएका प्राकृतिक तथा गैरप्राकृतिक विपद्का घटनामा परेर १ सय ५ जनाको मृत्यु भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि असार ५ गतेसम्म (करिब दुई महिना) को अवधिमा देशभर २ हजार २ सय ११ वटा विपद्जन्य घटना दर्ता भएका छन्। ती घटनामा ६ सय५ जना घाइते भएका छन् भने ३ हजार ९२ घरधुरी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार यो अवधिमा सबैभन्दा बढी मृत्यु ‘लेक लागेर’ (उचाइजन्य रोग) का कारण २१ जनाको भएको छ । पर्यटकीय तथा पर्वतारोहण मौसम भएकाले हिमाली क्षेत्रमा लेक लाग्ने समस्या बढी देखिएको बताइएको छ । त्यसपछि आगलागीका घटनामा १६ जनाको मृत्यु भएको छ भने सर्पदंश र चट्याङका कारण १४–१४ जनाले ज्यान गुमाएका छन् ।
शक्तिशाली हुरीबतासका कारण १३ जना तथा जङ्गली जनावरको आक्रमणबाट १० जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ । अन्य घटनामा बाढी, भारी वर्षा, डुङ्गा पल्टिने, वन डढेलो तथा हिमपहिरो लगायतका कारण मृत्यु भएको विवरण सार्वजनिक गरिएको छ ।
संख्यात्मक हिसाबले यो अवधिमा सबैभन्दा बढी ७३६ वटा आगलागीका घटना भएका छन् । सुख्खा मौसम र बढ्दो गर्मीका कारण बस्ती तथा बजार क्षेत्रमा आगलागीका घटना वृद्धि भएको प्राधिकरणले जनाएको छ । यसैगरी हुरीबतासका ४ सय ५२, सर्पदंशका २ सय ६९, वन डढेलोका १ सय ७९, चट्याङका १ सय ६०, पहिरोका १ सय २७ तथा जङ्गली जनावरको आक्रमणका १ सय १४ घटना दर्ता भएका छन् । मनसुन सक्रिय हुँदै जाँदा विपद्को जोखिम अझ बढ्ने प्राधिकरणले चेतावनी दिएको छ। पछिल्लो २४ घण्टामा मात्रै २६ जिल्लामा ३१ वटा विपद्का घटना भएका छन्, जसमा ४ जना घाइते भएका छन् ।
प्राधिकरणले बाढी र पहिरोको जोखिम उच्च हुने समय सुरु भएकाले जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय तहहरूलाई उच्च सतर्कता अपनाउन र पूर्वतयारीलाई सुदृढ बनाउन आग्रह गरेको छ ।