पर्साको वीरगंज महानगरपालिका–३१ सोलखपुर क्षेत्रबाट अवैध काठ तस्करी भइरहेको भिडियो सार्वजनिक भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वन कार्यालयको संयुक्त टोलीले छापा मारेर सालका काठ बरामद गरेको छ ।
सशस्त्र प्रहरी सुरक्षा बेस बेल्वा तथा सव–डिभिजन वन कार्यालय सबैयाबाट खटिएको संयुक्त टोलीले शनिबार विशेष सूचनाका आधारमा वीरगंज महानगरपालिका–३२ टेढा क्षेत्रमा अनुगमन गरेको थियो। सो क्रममा वन क्षेत्रबाट अवैध रूपमा कटान गरी बेवारिसे अवस्थामा राखिएको सालको काठ फेला परेको हो ।
संयुक्त टोलीले स्थानीय जगदीश माझीको घरनजिकबाट अन्दाजी १० क्युबिक फिट बराबरका दुई थान सालका गोलिया काठ बरामद गरेको जनाएको छ । त्यसैगरी परसवा क्षेत्रबाट थप अन्दाजी ३० क्युबिक फिट सालको चिरान काठसमेत फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको काठ वन क्षेत्रबाट अवैध रूपमा कटान गरी संकलन गरेर राखिएको आशंका गरिएको छ । अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उक्त काठ सव–डिभिजन वन कार्यालय सबैयामा बुझाइएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी डीएसपी मोहनराज निरौलाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको तथा अवैध काठ कटानी र तस्करीमा संलग्न व्यक्तिहरूको खोजी कार्यसमेत अगाडि बढाइएको सम्बन्धित निकायले जनाएको छ ।