पूर्वमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ ।
लामो समयदेखि दम रोगबाट पीडित खरेलको काठमाडौंको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको हो । उनका छोरा तथा काभ्रेको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले उपचाररत अवस्थामा गए राति निधन भएको जानकारी दिएका छन् ।
वि.सं. २००३ सालमा काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मिएका खरेल नेपाली कांग्रेसभित्र सरल, इमानदार र सादगी नेताका रूपमा परिचित थिए । स्वर्गीय देवीप्रसाद खरेल र मुकुन्दकुमारी खरेलका माइलो सन्तान रहेका उनले लामो समयसम्म नेपाली राजनीतिमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
वि.सं. २०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रेबाट निर्वाचित भएका खरेलले संसदीय राजनीतिमा महत्वपूर्ण योगदान दिएका थिए । उनी तत्कालीन सरकारमा शिक्षा राज्यमन्त्री बनेका थिए भने पछि महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए ।
खरेलको निधनप्रति राजनीतिक दलका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । उनको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी र सादगीपूर्ण नेताको अभाव महसुस गरेको बताइएको छ ।