नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन् । उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुरोधमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
उच्च सुरक्षा स्रोतका अनुसार पौडेलमाथि शंकास्पद सम्पत्तिको स्रोत तथा सेयर कारोबारसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ । सोही अनुसन्धानका क्रममा सोमबार सुर्खेतबाट उनलाई पक्राउ गरिएको बताइएको छ ।
पौडेल पार्टीको संगठन सुदृढीकरण तथा पुनर्गठनसम्बन्धी कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका थिए । कार्यक्रमकै क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको थियो । अहिले उनलाई थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही समयदेखि पौडेलको आर्थिक कारोबार, सम्पत्ति आर्जनको स्रोत तथा विभिन्न लगानीसम्बन्धी कागजातको अध्ययन गरिरहेको बताइएको छ । अनुसन्धानको दायरामा विशेषगरी सेयर कारोबार र सम्पत्तिको स्रोतबारे उठेका प्रश्नहरू रहेको स्रोतको दाबी छ ।
हालसम्म विभाग, नेपाल प्रहरी वा पौडेल स्वयंका तर्फबाट औपचारिक धारणा सार्वजनिक भएको छैन । एमालेले पनि घटनाबारे आधिकारिक प्रतिक्रिया दिएको छैन ।
पक्राउसँगै उनको बयान, वित्तीय अभिलेख, बैंकिङ कारोबार तथा सम्पत्ति विवरणमाथि विस्तृत अनुसन्धान गरिने बताइएको छ । अनुसन्धानको निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने सम्बन्धित निकायले जनाएको छ ।