नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका दुई अमूल्य सांस्कृतिक सम्पदा नेपाललाई फिर्ता गरिएको छ ।
न्युयोर्कस्थित नेपाली महावाणिज्यदूतावासमा बिहीबार आयोजित विशेष समारोहमा न्युयोर्क सरकारी वकिलको कार्यालयले तेह्रौँ शताब्दीको पद्मपाणी र सोह्रौँ शताब्दीको नृत्यदेवी मूर्तिको स्वामित्व औपचारिक रूपमा नेपाल सरकारलाई हस्तान्तरण गरेको हो ।
हस्तान्तरण समारोहमा नेपाली महावाणिज्यदूत दधिराम भण्डारी र म्यानहटन सरकारी वकिलको कार्यालयअन्तर्गत पुरातात्त्विक वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्तान्तरणसम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।
महावाणिज्यदूतावासका अनुसार तेह्रौँ शताब्दीको कास्य निर्मित पद्मपाणी मूर्ति काठमाडौंको थमबहिल (विक्रमशील महाविहार, भगवानबहाल) को महत्वपूर्ण कलाकृति हो । उक्त मूर्तिको अन्तिम तस्बिर सन् १९७१ मा लिइएको अभिलेखमा भेटिएको छ भने सन् १९७१ देखि १९७७ बीच कुनै समयमा अवैध रूपमा अमेरिका लगिएको अनुमान गरिएको छ ।
त्यसैगरी, सोह्रौँ शताब्दीको काठबाट निर्मित नृत्यदेवीको मूर्ति ललितपुरस्थित इबहा बहीको उत्कृष्ट काष्ठकलाको नमुना मानिन्छ । यो मूर्ति सन् १९६९ देखि १९८३ बीच चोरी गरी अमेरिका पुर्याइएको अनुमान छ। पछि उक्त मूर्ति न्युयोर्कस्थित मेट्रोपोलिटन म्युजियमबाट बरामद गरिएको थियो । यी दुवै सम्पदा न्युयोर्क सरकारी वकिलको कार्यालयले अमेरिकी गृह सुरक्षा अनुसन्धान निकाय तथा अन्य साझेदार संस्थासँगको सहकार्यमा खोजी गरी नेपाललाई फिर्ता गरेको हो ।
समारोहमा महावाणिज्यदूत भण्डारीले नेपाल सरकार र नेपाली जनताका तर्फबाट अमेरिकी सरकार, न्युयोर्क सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, अनुसन्धानकर्ता, संग्रहालय, सम्पदा संरक्षण अभियन्ता तथा समुदायका सदस्यप्रति आभार व्यक्त गरे ।
उनले सबै पक्षको संयुक्त प्रयासबाट यी अमूल्य सांस्कृतिक सम्पदाको खोजी, पुनः स्वामित्व प्राप्ति र स्वदेश फिर्ती सम्भव भएको बताए । साथै नेपाल र अमेरिकाबीच सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रण तथा संरक्षणमा विकसित हुँदै गएको सहकार्य अन्तर्राष्ट्रिय साझेदारीको उत्कृष्ट उदाहरण भएको उल्लेख गरे ।
महावाणिज्यदूत भण्डारीले अमेरिकास्थित नेपाली समुदाय तथा सामुदायिक संस्थाहरू, विशेषगरी नेवा गुठी न्युयोर्कलाई नेपाली सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा पुर्याएको योगदानका लागि धन्यवाद दिएका छन् ।
हस्तान्तरण गरिएका दुवै सम्पदा जुन २५ मा नेपाल पठाइने जनाइएको छ। ढुवानी तथा व्यवस्थापनको कार्य नेपाली महावाणिज्यदूतावास र नेवा गुठी न्युयोर्कको समन्वयमा हुने छ भने गुठीका प्रतिनिधिहरू सम्पदासँगै नेपाल आउनेछन् । काठमाडौं आइपुगेपछि ती सम्पदा पुरातत्त्व विभाग तथा सम्बन्धित सरकारी निकायलाई हस्तान्तरण गरिने जनाइएको छ ।
समारोहमा न्युयोर्क सरकारी वकिलको कार्यालय, गृह सुरक्षा अनुसन्धान निकाय, नेवा गुठी, मेट्रोपोलिटन म्युजियम, प्राध्यापक, नेपाली समुदायका सदस्य, सम्पदा संरक्षणकर्मी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।