जिल्ला प्रशासन कार्यालय सप्तरीले इस्लाम धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व मोहरम सभ्य, मर्यादित र शान्तिपूर्ण वातावरणमा मनाउन आग्रह गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवद्वारा जारी सूचनामार्फत मोहरम पर्वको अवसरमा जिल्लावासी सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै पर्व मनाउने क्रममा सार्वजनिक सडक तथा स्थानमा हातहतियार प्रदर्शन नगर्न, सवारी आवागमनमा अवरोध सिर्जना नगर्न तथा होहल्ला लगायतका अवाञ्छित गतिविधि नगर्न–नगराउन अनुरोध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले धार्मिक सद्भाव, सामाजिक सदाचार तथा सार्वजनिक शान्ति–सुरक्षा कायम राख्दै पर्वलाई हर्षोल्लासका साथ मनाउन सबैमा अपिल गरेको छ ।
सूचनामा चाडपर्वको नाममा कानुनविपरीतका गतिविधि, हातहतियार प्रदर्शन वा सार्वजनिक शान्ति भंग हुने कुनै पनि कार्य गरे–गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
प्रशासनले सबै समुदायबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको वातावरण कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।