प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिलाई संसद्को रेकर्डबाट हटाउनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभामा आइतबार पनि विरोध जनाएका छन् ।
उनीहरूले उक्त अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै प्रधानमन्त्री स्वयंले संसद्मा आएर स्पष्ट जवाफ दिनुपर्ने माग गरेका हुन् । प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै विपक्षी सांसदहरूले उठेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्याल ले नेपाली कांग्रेसकी सांसद रेनुका काउचालाई बोल्ने समय दिनुभएको थियो ।
सांसद काउचाले विपक्षी दलहरूको उद्देश्य प्रधानमन्त्रीलाई अप्ठ्यारो पार्नु नभई संसद्प्रति जवाफदेही बनाउनु रहेको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिले कूटनीतिक मर्यादा र राष्ट्रिय हितमा प्रश्न उठाएकाले उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाई सच्याउनुपर्ने धारणा राख्नुभयो ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३५ हजारभन्दा बढी बालबालिकालाई सदस्यता दिएको विषयमा समेत आपत्ति जनाउँदै त्यसबारे स्पष्ट जवाफ माग गर्नुभयो । यस्तै, नेकपा (एमाले) का सांसद पुष्प कँडेल ले पनि प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउनुपर्ने माग गर्दै राष्ट्रियताजस्तो संवेदनशील विषयमा सरकार गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहाँले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई प्रतिशोधको भावनाले पक्राउ गरिएको आरोप लगाउँदै तत्काल रिहा गर्न सरकारसँग माग गर्नुभयो । गत निर्वाचनमा वर्तमान प्रधानमन्त्रीलाई गाडी उपलब्ध गराउने व्यक्तिको बयानका आधारमा पौडेललाई पक्राउ गरिएको भन्ने समाचार सार्वजनिक भएको उल्लेख गर्दै उहाँले यसलाई राजनीतिक प्रतिशोधको निरन्तरता भएको दाबी गर्नुभयो ।
सांसद कँडेलले गत चैतमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गरिएको कारबाहीको अर्को रूपका रूपमा विष्णु पौडेलको गिरफ्तारीलाई चित्रण गर्दै सरकारले राजनीतिक पूर्वाग्रह त्याग्नुपर्नेमा जोड दिनुभयो ।