उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाको सफलता नै देशको सुनौलो भविष्यको आधारस्तम्भ भएको बताउनुभएको छ ।
मदन भण्डारी मेमोरियल कलेजको २५औँ वार्षिकोत्सव (रजत वर्ष)का अवसरमा आइतबार आयोजित कार्यक्रममा उहाँले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा आधारभूत मूल्य, नैतिकता र संस्कारलाई आत्मसात् गर्दै विश्वस्तरमा प्रतिस्पर्धा गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले भन्नुभयो, “प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) र विश्वव्यापी प्रतिस्पर्धाको यो युगमा हामीले आफ्ना आधारभूत मूल्य र नैतिकतासँग जोडिँदै विश्वस्तरमा प्रतिस्पर्धा गर्नुपर्छ । युवाको सफलता नै हाम्रो देशको सुनौलो भविष्यको आधारस्तम्भ हो ।”
उपराष्ट्रपति यादवले शिक्षाले केवल ज्ञान मात्र नभई नम्रता, अनुशासन र सामाजिक उत्तरदायित्वसमेत प्रदान गर्ने बताउनुभयो । नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा शिक्षा नै सामाजिक सद्भाव, समानता र राष्ट्रिय एकताको आधार भएको उहाँको भनाइ थियो ।
मदन भण्डारी मेमोरियल कलेजले गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्रका लागि सक्षम, अनुशासित र जिम्मेवार नागरिक उत्पादनमा उल्लेखनीय योगदान पुर्याएको उल्लेख गर्दै उहाँले शिक्षकहरू राष्ट्र निर्माणका अभियन्ता भएको बताउनुभयो ।
“शिक्षकहरू केवल ज्ञान बाँड्ने व्यक्ति मात्र होइनन्, उहाँहरू राष्ट्र निर्माणका अभियन्ता हुनुहुन्छ । शिक्षकहरूले सयौँ कोपिलालाई फूल बनाएर समाजमा सुगन्ध छर्ने काम गर्दै आउनुभएको छ,” उहाँले भन्नुभयो ।
उपराष्ट्रपति यादवले आजका युवामा रोजगारी खोज्ने मात्र नभई आफ्नै प्रतिभा, सीप र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने क्षमता रहेको उल्लेख गर्नुभयो । “जब म यहाँ उपस्थित युवाहरूको अनुहार हेर्छु, तब म एउटा प्रगतिशील, आत्मनिर्भर र समृद्ध नेपालको तस्बिर देख्छु। आजका युवाहरू केवल रोजगारी खोज्ने मात्र होइनन्, आफ्नो प्रतिभा र उद्यमशीलतामार्फत रोजगारी सिर्जना गर्ने क्षमता बोकेका छन् । नेपालको भविष्य युवा शक्तिमै निर्भर छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति दीपकप्रसाद अर्यालले देशका ४५० सामुदायिक क्याम्पसमध्ये मदन भण्डारी मेमोरियल कलेज उत्कृष्ट कलेजमध्ये एक बन्न सफल भएको उल्लेख गर्दै आगामी दिनमा उच्च गुणस्तरीय शिक्षामा अझ जोड दिनुपर्ने धारणा राख्नुभयो ।
क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले समयको मागअनुसार समाज रूपान्तरणमा कलेज अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित भएको बताउनुभयो । कार्यक्रमको अध्यक्षता कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पाण्डेले गर्नुभएको थियो ।