प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ बहुमतले पारित भएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए, जसलाई बहुमतले स्वीकृत गरेको हो ।
विधेयकमाथि दर्ता भएका संशोधन प्रस्तावहरूमाथि भएको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षदेखि पुँजीगत खर्च कम हुने अवस्थाको अन्त्य हुने दाबी गरे ।
उनले सरकारले लिएको कर नीतिले न्यून आय भएका नागरिकलाई कुनै असर नपर्ने स्पष्ट पारे । अर्थतन्त्र सुधारका लागि सरकारले महत्वाकांक्षी बजेट ल्याएको उल्लेख गर्दै उनले आगामी वर्षदेखि त्यसको सकारात्मक परिणाम देखिने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री वाग्लेले भ्याट (मूल्य अभिवृद्धि कर) का बहुदर प्रणालीबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिने र त्यसको सिफारिसका आधारमा मन्त्रालयले आवश्यक निर्णय गर्ने जानकारी दिए ।
त्यसैगरी, उनले राइड सेयरिङ सेवा (राइड हाइलिङ) को कारोबार अर्बौं रुपैयाँको भएकाले त्यसलाई पनि करको दायरामा ल्याउने गरी सरकारले आवश्यक नीति बनाउने तयारी गरिरहेको बताए ।