मनसुनी वायु सक्रिय भएसँगै आगामी असार १६ र १७ गते देशका विभिन्न भागमा भारी वर्षा हुने सम्भावना रहेको भन्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
प्राधिकरणका अनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने तथा एक–दुई स्थानमा अत्यधिक भारी वर्षाको समेत सम्भावना रहेको छ ।
भारी वर्षासँगै पहाडी क्षेत्रमा पहिरो तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले नदी, खोला तथा खहरे खोलाको आसपासका बासिन्दालाई विशेष सतर्क रहन आग्रह गरिएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले आकस्मिक बाढीको जोखिम भएका क्षेत्रमा यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्ने बताइन् ।
सम्भावित विपद्लाई ध्यानमा राख्दै डुबान प्रभावित क्षेत्रका नागरिकलाई आवश्यकता अनुसार सुरक्षित तथा अग्लो स्थानमा सर्न प्राधिकरणले आग्रह गरेको छ । साथै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, स्थानीय तह तथा स्वयंसेवकलाई सम्भावित विपद्को सामना गर्न तयारी अवस्थामा रहन निर्देशन दिइएको छ ।
मनसुनका कारण अवरुद्ध हुन सक्ने राजमार्ग तथा प्रमुख सडक तत्काल सञ्चालनमा ल्याउन आवश्यक डोजर, एक्साभेटर, लोडरलगायत उपकरण तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ । विपद् व्यवस्थापनमा संलग्न साझेदार संस्थाहरूलाई जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिसँग निरन्तर समन्वय गर्न पनि आग्रह गरिएको छ ।
प्राधिकरणले नागरिकलाई जल तथा मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् आपतकालीन सहयोगका लागि ११४९, नेपाल प्रहरीका लागि १०० र सशस्त्र प्रहरी बलका लागि १११४ नम्बरमा सम्पर्क गर्न तथा ती नम्बर मोबाइलमा सुरक्षित राख्न अनुरोध गरेको छ ।