सरकारले ट्राफिक नियमलाई थप कडा बनाउने उद्देश्यसहित सम्बन्धित ऐन संशोधनको तयारी गरिरहेका बेला गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठले प्रयोग गर्ने सरकारी गाडीको कालो सिसा हटाइएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोली सोमबार सिंहदरबार पुगेर गृहमन्त्री र गृहसचिव चढ्ने सवारी साधनबाट कालो सिसा हटाएको हो ।
ट्राफिक प्रहरीले कालो सिसा हटाउने विशेष अभियान सञ्चालन गरेपछि गृहमन्त्री गुरुङले आफ्नै सरकारी गाडीबाट पनि कालो सिसा हटाउन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार ट्राफिक प्रहरीको टोली सिंहदरबार पुगेर कालो सिसा हटाएको जनाएको छ ।
प्रहरीका अनुसार कालो सिसा जडान गरिएका सवारी साधन विभिन्न आपराधिक गतिविधिमा प्रयोग हुने सम्भावना रहने भएकाले यस्तो अभियानलाई तीव्रता दिइएको हो । सरकारले ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक सुरक्षालाई थप सुदृढ बनाउन यस अभियानलाई निरन्तरता दिने जनाएको छ ।