सभामुख डोलप्रसाद अर्यालले भ्रष्टाचार अन्त्य, सुशासनको सुनिश्चितता र समृद्ध नेपाल निर्माणमार्फत विदेशिएका लाखौं नेपाली नागरिकलाई स्वदेश फर्किने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् ।
संसद दिवसका अवसरमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले देशको समृद्धि नै विदेश पलायन भएका नेपालीलाई स्वदेशमै अवसर खोज्न प्रेरित गर्ने आधार हुने बताए ।
उनले अघिल्लो पुस्ताको अनुभव र नयाँ पुस्ताको ज्ञान, ऊर्जा तथा सोचलाई समन्वय गर्दै देश विकासको अभियानलाई अघि बढाउनुपर्नेमा जोड दिए ।
सभामुख अर्यालले युवाहरूमा रहेको तीव्र विकासको आकांक्षा र जनजीविकासँग जोडिएका विषयलाई प्राथमिकतामा राख्न कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समान गति, समन्वय र प्रभावकारी सहकार्य आवश्यक रहेको उल्लेख गरे ।
उनले संविधानको अक्षरशः पालना गर्दै कानुनी शासनलाई थप सुदृढ बनाउने दिशामा सबै राज्य संयन्त्र जिम्मेवार ढंगले अघि बढ्नुपर्ने धारणा पनि व्यक्त गरे ।
नेपालमा २०१६ साल असार १६ गते संसदको पहिलो बैठक बसेको ऐतिहासिक स्मरणमा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाउने गरिन्छ ।