चितवन राष्ट्रिय निकुञ्जभित्र सञ्चालन हुँदै आएको जङ्गल सफारी सेवा आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
वर्षायाममा आउने बाढी, कच्ची वनपथ बिग्रिने तथा रुख ढलेर बाटो अवरुद्ध हुने जोखिम बढेकाले पर्यटकको सुरक्षा र सहजतालाई ध्यानमा राख्दै निकुञ्ज प्रशासनले सफारी सेवा बन्द गर्ने निर्णय गरेको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार वर्षायाम वन्यजन्तु तथा चराचुरुङ्गीको प्रजननका लागि उपयुक्त समय भएकाले पनि निकुञ्जभित्र सफारी सञ्चालन रोकिएको हो । निकुञ्ज प्रशासनले हरेक वर्ष मनसुन अवधिभर जङ्गल सफारी बन्द गर्ने परम्परा रहेको जनाउँदै मौसमको अवस्था अनुकूल भए आगामी दसैँको आसपासबाट सेवा पुनः सञ्चालन गरिने जनाएको छ ।
निकुञ्जको मुख्य क्षेत्र (कोर एरिया) मा जीप तथा पैदल सफारी बन्द गरिए पनि निकुञ्ज आसपासका सामुदायिक वनमा सञ्चालन हुने सफारी भने नियमित रूपमा जारी रहनेछ । यसअघि चितवनको सौराहा, कसरा, मेघौली, माडी तथा नवलपरासीका विभिन्न प्रवेशद्वारबाट पर्यटकहरू जीप सफारीमार्फत निकुञ्ज प्रवेश गरी वन्यजन्तु अवलोकन गर्ने व्यवस्था रहेको थियो ।
निकुञ्ज प्रशासनले अर्को सूचना जारी नभएसम्म निकुञ्जभित्रको सफारी सेवा बन्द रहने र पर्यटकले सामुदायिक वनमा उपलब्ध वैकल्पिक सफारी सेवाको उपयोग गर्न सक्ने जनाएको छ ।