गृहमन्त्री सुदन गुरुङ शनिबार बिहान विराटनगर पुगेका छन् । उनी बिहान १०ः५७ बजे बुद्ध एयरको विमानमार्फत विराटनगर विमानस्थलमा अवतरण गरेका हुन् ।
विराटनगर पुगेपछि गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय, प्रदेश प्रहरी कार्यालयलगायत सुरक्षा तथा प्रशासनिक निकायहरूको निरीक्षण गरिरहेका छन् । त्यसपछि सुनसरीको इटहरी–पकलीस्थित सशस्त्र प्रहरी बलको प्रदेश कार्यालयको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
विराटनगरस्थित एक सुरक्षा अधिकारीका अनुसार गृहमन्त्रीको विस्तृत भ्रमण तालिका औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।
सुरक्षा स्रोतका अनुसार गृहमन्त्रीले झापा, मोरङ र सुनसरी जिल्लाको सीमा सुरक्षा अवस्था, विपद् व्यवस्थापनको तयारी तथा प्रशासनिक गतिविधिको अनुगमन गर्ने सम्भावना रहेको छ । यद्यपि, गृह मन्त्रालयले यसबारे कुनै आधिकारिक कार्यक्रम सार्वजनिक गरेको छैन ।
सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै गृहमन्त्रीको भ्रमण कार्यक्रम गोप्य राखिएको एक सुरक्षा अधिकारीले बताएका छन् ।