नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार ‘चटकको भरमा आएको’ र ‘चटककै भरमा जान सक्ने’ आरोप लगाएका छन् ।
नेकपा एमालेको पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारलाई कसैले नढाले पनि आन्तरिक रूपमा ढल्ने तत्वहरू स्वयं त्यहाँ रहेको जिकिर ग रे। उनले भने, “अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएका हुन्छन्, ढल्छ जान्छ। अझ यो चटकका भरमा आएको, चटककै भरमा जान्छ ।”
तर, त्यसो भन्दैमा एमाले पर्खिएर बस्न नहुने उनको भनाइ थियो। पर्खिएर बसे देश, लोकतन्त्र र जनता नै बर्बाद भइसकेको अवस्था आउन सक्ने उनले चेतावनी दिए । ओलीले थपे, “त्यो पर्खिएर हामी बस्यौं भने देश बर्बाद भइसकेको हुन्छ, लोकतन्त्र बर्बाद भइसकेको हुन्छ, जनता बर्बाद भइसकेका हुन्छन् । त्यसकारण परिवर्तन पर्खने चिज होइन, सचेत प्रयासबाट छिटो गरिने चिज हो ।”
उनका अनुसार राजनीतिक परिवर्तन स्वतः हुने कुरा नभई सक्रिय र योजनाबद्ध प्रयासबाट मात्र सम्भव हुन्छ ।