काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार टिकाउ नभएको दाबी गर्दै चटकको भरमा बनेको सरकार चटककै भरमा ढल्ने टिप्पणी गरेका छन् ।
मंगलबार आयोजित नेकपा एमालेको पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारभित्रै सरकार ढाल्ने तत्वहरू सक्रिय रहेको दाबी गरे । उनले सरकारलाई बाहिरबाट कसैले ढाल्न आवश्यक नरहेको भन्दै सरकार आफैंभित्रका कारण अस्थिर बन्ने जिकिर गरे ।
उनले भने, ‘अहिलेको सरकार कसैले नढाले पनि ढाल्ने तत्वहरू त्यहाँ उभिएका हुन्छन्, ढल्छ जान्छ । अझ यो चटकका भरमा आएको, चटककै भरमा जान्छ ।’
सरकार आफैं ढल्ने प्रतीक्षामा बस्नु उचित नहुने उल्लेख गर्दै ओलीले त्यसरी पर्खिँदा मुलुक, लोकतन्त्र र जनताले ठूलो क्षति व्यहोर्नुपर्ने बताए। उनले परिवर्तन स्वतः हुने प्रक्रिया नभई सचेत र संगठित प्रयासबाट सम्भव हुने धारणा राखे ।
‘तर त्यो पर्खिएर हामी बस्यौं भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामी र जनतालाई बर्बाद गरिसक्छ । त्यसकारण परिवर्तन पर्खने चिज होइन, यो सचेत प्रयासबाट छिटो गरिने चिज हो,’ ओलीले भने ।
उनले पार्टीका नेता–कार्यकर्तालाई जनतामाझ पुगेर संगठन सुदृढ बनाउन र राजनीतिक रूपमा सक्रिय हुन पनि आग्रह गरे ।