काठमाडौं | नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले सर्लाही निवासी पार्टीका केन्द्रीय सदस्य अशोक कुमार यादव र उनको परिवारमाथि स्थानीय प्रहरीले गरेको भनिएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टीले सोमबार जारी गरेको विज्ञप्तिमा ट्याक्टर र ट्रकबीच भएको सामान्य सवारी दुर्घटनालाई अनावश्यक रूपमा उचालेर प्रहरीले यादवको घर तथा गाउँमा पटक–पटक छापा मार्ने, परिवारका सदस्यलाई त्रसित बनाउने तथा अतिरञ्जित ढङ्गले मुद्दा अघि बढाउने प्रयास गरेको आरोप लगाएको छ। पार्टीले यस्ता गतिविधिको कडा विरोध तथा भर्त्सना गरेको छ ।
विज्ञप्तिमा घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्नेमा पार्टी स्पष्ट रहेको उल्लेख गरिएको छ । साथै, घटनालाई नियोजित रूपमा अतिरञ्जित गरी अशोक यादव र उनको परिवारलाई दुःख दिने तथा अनावश्यक रूपमा आरोप लगाउने कार्य तत्काल रोक्न सम्बन्धित निकायसँग आग्रह गरिएको छ ।
नेकपाले प्रहरी प्रशासनसँग उक्त घटनाको निष्पक्ष, कानुनसम्मत र पूर्वाग्रहविहीन अनुसन्धान गर्न माग गर्दै अनुसन्धान प्रक्रियामा पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
उक्त विज्ञप्तिमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय कार्यालयका मुख्य सचिव गणेशमान पुनको हस्ताक्षर रहेको छ ।
