नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्राथमिकता र उद्देश्य स्पष्ट नगरी गरिने संविधान संशोधनले देशलाई द्वन्द्वतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन् ।
बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित ‘संविधान संशोधनमा नेपाली कांग्रेसको दृष्टिकोण’ विषयक कार्यक्रममा सभापति थापाले निश्चित समस्या समाधान गर्ने उद्देश्यबिना गरिने संशोधनले संवैधानिक जटिलता, राजनीतिक ध्रुवीकरण र सामाजिक असन्तुलन निम्त्याउन सक्ने बताएका हुन् ।
उनले सरकारले कुनै स्पष्ट समस्या पहिचान नगरी संविधानको समग्र विषयलाई एकैपटक संशोधनको एजेन्डा बनाउन खोजेको भन्दै आपत्ति जनाए । लोकतन्त्र, गणतन्त्र, संघीयता, संसदीय शासन प्रणाली, बहुजातीयता, बहुधार्मिकता, बहुसांस्कृतिकता र समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता विषयमा कांग्रेसले कुनै सम्झौता नगर्ने उनको भनाइ छ ।
“संविधानका आधारभूत विषयमा नेपाली कांग्रेसले कुनै पनि सम्झौता गर्दैन। यी विषय हाम्रो पार्टीको प्रतिबद्धता र विधानमै स्पष्ट रूपमा उल्लेख छन्,” थापाले भने ।
सभापति थापाले संघ र प्रदेश संसदको आकार घटाउने, मन्त्रीपरिषद् सानो बनाउने तथा स्थानीय सरकारलाई थप बलियो बनाउने विषयमा भने संविधान संशोधन गर्न कांग्रेस तयार रहेको बताए ।
तर संविधानका संरचना नै खारेज गर्ने उद्देश्यले अघि बढ्ने कुनै पनि प्रयासले मुलुकमा अस्थिरता र द्वन्द्व निम्त्याउन सक्ने उनले चेतावनी दिए ।
थापाले संवैधानिक निकायलाई अझ स्वतन्त्र र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै ती निकायलाई सरकारको प्रभावबाट मुक्त राख्नुपर्ने बताए । उनले संवैधानिक निकायमा भागबन्डा नभई पारदर्शिता र शुद्धता आवश्यक रहेको धारणा राखे ।